FAQ-Passport Services

राहदानी (पासपोर्ट) सम्बन्धी

राहदानीको (पासपोर्ट) म्याद कति समय बाँकी भएको अवस्थामा नवीकरण (Renew) गर्न सकिन्छ ?
सामान्यतया पासपोर्टको म्याद एक वर्ष भन्दा कम भएको अवस्थामा पासपोर्ट नवीकरण (Renew) गर्न सकिन्छ । अनलाइन आवेदन फाराम (https://online.nepalpassport.gov.np/  भरी तोकिएको मिति र समयमा महावाणिज्यदूतावासमा उपस्थित हुनुपर्दछ।

राहदानीका लागि अनलाइन फाराम कसरी भर्ने ?

१. यो लिंकमा जानुहोस्: https://online.nepalpassport.gov.np/

२. "राहदानीका लागि आवेदन" मा जानुहोस्।

३. पहिलो राहदानी वा नविकरण जे गर्ने हो त्यही छान्नुहोस् ।

४. "Ordinary 34 pages" छानी "proceed" मा थिच्नुहोस् ।

५. "स्वीकृत छ" थिच्नुहोस् ।

६. "Appointment country" मा other  छान्नुहोस्  र Location मा NCG Dubai छान्नुहोस् । Date र time छान्नुहोस् ।

७. दिइएको code टाइप गर्नुहोस् ।

८. आवेदन फाराम भर्नुहोस्, मागिएका कागजात अपलोड गर्नुहोस्, र submit  गर्नुहोस् । फाराम प्रिन्ट गरी आफ्नो हालको original passport र नागरिकता लिएर आफुले बुक गरेको मिति र समयमा कन्सुलेट  अफिसमा आउनुहोला।

----------

Note: कागजात अपलोड गर्दा फोटो फर्म्याट (JPG/JPEG, PNG) मा हुनु पर्ने र फाईलको साईज ३०० KB भन्दा ठुलो हुनु नहुने हुँदा सोही अनुसार आवश्यक फाईलहरु तयार गर्नुहोला।

नवीकरणका लागि आवश्यक डिजिटल कागजातहरु :

1. नागरिकताको अगाडि तर्फको फोटो – Citizenship Certificate Front

2. नागरिकताको पछाडि तर्फको फोटो – Citizenship Certificate Back

3. राहदानी (पासपोर्ट) को फोटो पेजको फोटो – Previous Passport Front

4. राहदानी (पासपोर्ट) को पछाडिको पेजको (सम्पर्क व्यक्तिको विवरण भएको पेज) फोटो – Previous Passport Front

..................................

 

राहदानी नवीकरण गर्न स्वयम् उपस्थित हुनुपर्छ?

महावाणिज्यदूतावासमा स्वयम् उपस्थित भई बायोमेट्रिक गर्नुपर्ने भएकाले आफै आउन पर्दछ।
 

राहदानी नवीकरण (Renew) का लागि के के कागजात चाहिन्छ ?
सक्कल पासपोर्ट र नागरिकताको फोटोकपी अनिवार्य चाहिन्छ ।

राहदानी नवीकरण गर्न आउँदा फोटो लिएर आउनु पर्छ कि पर्दैन ?
नेपाली महावाणिज्यदूतावासबाटै अनलाइन प्रविधिबाट फोटो खिचिने भएकाले व्यक्तिले फोटो ल्याउनु पर्दैन ।

राहदानी नवीकरण शुल्क वापत कति रकम तिर्नु पर्छ ?
नवीकरण शुल्क वापत युएई दिराम २०0 लाग्दछ तर पासपोर्ट हराएको वा ड्यामेज भएको अवस्थामा ३०0 दिराम लाग्दछ ।

पासपोर्ट नयाँ बनेर आउन कति समय लाग्छ?
पासपोर्ट छपाईको प्रक्रिया नेपालस्थित राहदानी विभागबाट मात्रै हुने भएकाले साधारणतया 30 दिन देखि 45 दिनको समय लाग्दछ ।

पासपोर्ट तयार भएको जानकारी कसरी पाउन सकिन्छ ?
महावाणिज्यदूतावासको वेबसाईट तथा आधिकारिक फेसबुक पेजमा पासपोर्ट तयार भएको सूचनामा सम्बन्धित व्यक्तिको नाम सहितको विवरण राखिएको हुन्छ । उक्त फेसबुक पेज हेरेर जानकारी पाउन सकिन्छ ।

नयाँ पासपोर्ट लिनको लागि राजदूतावासमा आउँदा के कस्तो निस्सा ल्याउनु पर्दछ ?
सक्कलै पुरानो पासपोर्ट र राजस्व तिरेको रसिद लिएर आउनु पर्दछ । तयार राहदानी लिन आउने समयमा आफै उपस्थित हुन नसकेमा आफ्नो सक्कल राहदानी र सक्कल रसिदका साथमा मन्जुरिनामा दिएर कसैलाई दिएमा उक्त व्यक्तिले समेत लिन सक्नेछ।

राहदानी हराएमा के गर्ने?

राहदानी हराएमा नजिकको प्रहरी कार्यालयमा निवेदन दिइ Police Report of Loss Passport बनाउनु पर्दछ ।  हराएको राहदानीको सट्टा नयाँ राहदानी बनाउन पुनः आवेदन दिनु पर्दछ र नयाँ सरह सम्पूर्ण प्रक्रिया अपनाउनु पर्दछ ।

हराएको राहदानीको नयाँ राहदानी बनाइ सकेपछि पुरानो राहदानी भेटियो, के गर्ने?

हराएको राहदानी भेटिएमा तुरुन्तै दर्ता केन्द्रमा सम्पर्क गरी भेटिएको राहदानी रद्द गराउनु पर्दछ। हराएको राहदानीको जानकारी Interpol मार्फत् विदेशमा समेत पठाइने भएकोले त्यस्तो राहदानी प्रयोग गर्न मिल्दैन । हराएको राहदानी लिई यात्रा गरेमा सम्बन्धित मुलुकको अध्यागमन नियम अनुसार कारबाही हुन सक्छ ।

फोटो खिच्दा गहना लगाउन मिल्छ?

सामान्यतः सधैँ लगाउने र साना आकारका गहना (जस्तैः नाकमा लगाउने सानो फुली) लगाउन सकिन्छ। तर यस्तो गहना फोटो खिच्दा टल्कनु हुँदैन र गहनाले मुहारमा प्रमुख भाग (जस्तै आँखा, मुख, आँखीभौँ, आदि) छोपिनु हुँदैन । साथै, पार्टीमा लगाउने जस्तो गहना फोटो खिच्दा फुकाल्नु पर्दछ।

 

फोटो खिच्दा शृङ्गार (Makeup) वा टीका लगाउन मिल्छ?

फोटो खिच्दा सकभर श्रृङ्गार नगर्नु राम्रो हुन्छ । तर मुखाकृतिमा कुनै फरक नपर्ने किसिमका नियमित गरिने श्रृङ्गार भने लगाउन सकिन्छ ।

टीका सम्बन्धमा कुनै स्पष्ट मापदण्ड नभएको भएतापनि फोटो खिच्दा टीका नलगाएको राम्रो हुन्छ ।

 

घाँटी वा सो भन्दा माथि अनुहारमा स्थायी Tattoo वा कुनै दाग छ के गर्ने?

घाँटी वा सो भन्दा माथि स्थायी प्रकृतिको ट्याटु वा कुनै दाग छ भने केही गर्नु पर्दैन । तर कुनै चोट पटक लागि वा अन्य कारणले कुनै दाग छ भने सो दाग हटे पछि राहदानी बनाउँदा उचित हुन्छ । यदि तुरुन्त राहदानी चाहिएको छ र अस्थायी प्रकारको चोटपटक वा दाग हटाउन सकिँदैन भने हाललाई राहदानी बनाई चोटपटक वा दाग निको भए पछि नयाँ राहदानी बनाउनु उपयुक्त हुन्छ। अन्यथा, यात्रा गर्ने क्रममा कठिनाई आउन सक्दछ ।

 

जारी भइसकेको राहदानीको विवरणमा त्रुटि देखिएमा के गर्ने?

राहदानी छपार्इ हुँदा कुनै त्रुटि भएमा नयाँ राहदानी लिनु पर्दछ। यदि नियोग वा राहदानी विभागको त्रुटिका कारण जारी भएको राहदानी प्रयोग हुन नसक्ने भई कसैले नयाँ राहदानी माग गरेमा कुनै दस्तुर नलिई नयाँ राहदानी जारी गरिनेछ। 

 

राहदानी आवेदकको त्रुटिका कारण नयाँ राहदानी बनाउँदा नयाँ राहदानीका लागि लाग्ने बराबरको दस्तुर लाग्नेछ। 

के राहदानी नवीकरण गर्दा पुरानो सङ्ख्या (Number) कै राहदानी बन्दछ ? मेरो राहदानीमा भिसा छ, नवीकरण गर्दा के हुन्छ ?

बन्दैन । राहदानी  नवीकरण गर्दा नयाँ सङ्ख्याको राहदानी बन्दछ । नयाँ जारी गरिएको राहदानीमा पुरानो राहदानी सङ्ख्या समेत उल्लेख गरिने भएकोले सामान्यतः पुरानो तथा नयाँ दुबै राहदानी साथमा लिई यात्रा गर्दा पहिलाको राहदानीमा भएको भिसा मान्य हुन्छ । यो विषय मुलुक पिच्छेको नियममा निर्भर गर्ने भएकोले जुन मुलुकको भ्रमण गर्ने हो वा जुन मुलुकको भिसा लिएको हो, सोही मुलुकको आधिकारिक निकायसँग बुझ्नु राम्रो हुन्छ ।
 

महावाणिज्यदूतावासमा राहदानीको लागि आवेदन दिएकोमा राहदानी प्राप्त नुहुँदै नेपाल फर्कनुपर्‍यो, के गर्ने ?

दूतावासमा राहदानीका लागि आवेदन दिएकोमा राहदानी जारी नुहुँदै नेपाल फर्कनु परेमा उक्त कुरा महावाणिज्य दूतावासलाई जानकारी गराई तयार राहदानी विभागबाट जारी गर्नु अनुरोध गर्न सकिन्छ। यसरी अनुरोध प्राप्त भएमा महावाणिज्यदूतावासले यताबाट गरेको प्रक्रिया रद्द गरी नेपालबाट जारी गर्न सिफारीस गर्न सक्नेछ।

 

विदेशमा राहदानी तुरुन्त चाहिएमा आफन्तमार्फत् नेपालबाट झिकाउन सकिन्छ?

सकिँदैन ।

 

मैले राहदानीको लागि भरेको अनलाइन फाराममा त्रुटि हुन गएछ कसरी सच्याउने होला?

महावाणिज्यदूतावासमा biometric गर्ने बेलामा सच्याउन सकिन्छ। फोटो खिच्ने बेलामा वा फाराम रुजु गर्ने बेलामा सम्बन्धित कर्मचारीलाई जानकारी गराउनुपर्छ।

नवजात शिशुको राहदानीका लागि आवश्यक कागजात के के हुन् ?

आमाबाबुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,

आमाबाबुको राहदानी प्रतिलिपि,

आमाबाबुको विवाह दर्ता प्रमाणपत्र,

बच्चाको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि(युएईको परराष्ट्र मन्त्रालयबाट प्रमाणित भएको हुनुपर्ने),

बच्चाको हालसालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो।
अनलाईन आवेदन फाराम।