भिजिट भिसा र व्यक्तिगत रोजगार भिसाका नाममा भइरहेको ठगीका बारे सचेत रहन अनुरोध ।

भिजिट भिसा र व्यक्तिगत रोजगार भिसाका नाममा भइरहेको ठगीका बारे सचेत रहन अनुरोध

संस्थागत रुपमा बैधानिक एवम् सुरक्षित माध्यमबाट युएईमा रोजगारका लागि आउने विकल्प हुँदाहुँदै उल्लेख्य संख्यामा नेपाली नागरिकहरु असुरक्षित तवरले युएई आउने र ठगीमा पर्ने एकपछि अर्को   घट्ना देखिएको छl   

नेपाली नागरिकहरु नेपालमा लाखौँ रुपैया दलाललाई बुझाई अन्य मुलुकको भिजिट भिसा प्रयोग गरेर काठमाडौंबाट हवाई यात्रा शुरु गर्ने, शारजाह/दुबई ट्रान्जिटबाट सो मुलुकको यात्रा नगरी नितान्त ठगीको उद्देश्यले निकालिएका व्यक्तिगत श्रम भिसाको प्रयोग गरेर युएई आगमन हुने र त्यसपछि कम्पनीसँग सम्पर्क हुन नसकी वा कम्पनीले वेवास्ता गरी अलपत्र पर्ने गरेको पाइएको छ।   

साथै, नेपालमा ठुलो रकम बुझाई युएईको भिजिट भिसा प्राप्त गर्ने र युएई आएपश्चात काम खोज्ने सोचले गर्दा पुन: दलालको फन्दामा परी ठगी एवं कानूनी झमेला बेहोर्न पुग्नु भएका नेपाली नागरिकहरुबाट उल्लेख्य संख्यामा गुनासोहरू महावाणिज्यदूतावासमा प्राप्त हुने गरेको छ।

यस किसिमका ठगीका बारे सचेत रहनु र ठगीबट बच्नुको कुनै विकल्प छैन।

अत: रोजगारीका लागि युएई आउन चाहने नेपाली नागरिकहरुलाई भिजिट भिसाबाट नभई संस्थागत रोजगार भिसाको सुरक्षित बाटो अपनाउनु हुन पुन: अनुरोध गरिएको छ। साथै, स्थापित र भरपर्दो रोजगारता कम्पनीमा आफ्नो योग्यता र अनुभव मिल्ने उच्च सीपयुक्त काम, आफुले यसभन्दा अघि रोजगारी गरिसकेको भरपर्दो कम्पनीको काम र युएईमा रहेका आफ्नै परिवारका सदस्यले पहल गरी खोजिदिनु भएको विश्वासिलो कम्पनीको काम बाहेक व्यक्तिगत रोजगार भिसामा युएई नआउनु हुन समेत अनुरोध गरिएको छ।       

 

नेपाली महावाणिज्यदूतावास, दुबई।

भाद्र २६, २०८३ (सेप्टेम्बर ११, २०२६)