यस महावाणिज्यदूतावासमा सेप्टेम्बर १ देखि सेप्टेम्बर ३०,२०२५ सम्म राहदानीका लागि आवेदन दिने संख्या २३८४ रहेकोमा राहदानी विभाग,काठमाडौंमा अत्यधिक चापका कारण सेप्टेम्बर ९ सम्मको ९५८ थान राहदानीमात्र छपाई भएर आएको छ जसको सूची यो लिंकमा राखिएको छ। https://dxb.nepalconsulate.gov.np/content/34/the-list-of-people-who-applied-for/
सुचिमा नाम हुने महानुभावहरुले हालको राहदानी र शुल्क बुझाएको रसिद लिई आएमा नयाँ बनेर आएको राहदानी यस महावाणिज्यदूतावासबाट प्राप्त गर्न सक्नुहुनेछ। 
बाँकी निवेदकहरूको हकमा राहदानी प्राप्त हुन केही ढिलाई हुन गएकोमा महावाणिज्यदूतावास क्षमाप्रार्थी छ।यहाँहरुको नयाँ राहदानी आगामी लटमा प्राप्त हुनेनैछ। 
हामी जानकार छौं कि यहाँहरुमध्ये केहीलाई भिसा नविकरण गर्न, केहीलाई जरूरी यात्रा गर्न, केहीलाई अन्य जरुरी कामका लागि राहदानी शिघ्र आवश्यक छ। यस्तो स्थितिमा हुनुभएका निवेदकहरुले हामीलाई मेसेन्जर, ह्वाट्सअप वा इमेलमा राहदानी शुल्क तिरेको रसिदको फोटो सहित आफ्नो कठिनाईको बारे छोटो संदेश पठाउनु भएमा हामी सम्बन्धित निकायमा सोही अनुसार सञ्चार गर्नेछौं र यथाशक्य चाँडो राहदानी प्राप्त गर्न निरन्तर प्रयास गर्नेछौं। 
साथै, प्राविधिक एवं परिस्थितिजन्य कारणले कहिलेकाही राहदानी छपाई भएर आउन समय लाग्ने भएकोले संयुक्त अरब इमिरेट्सको दुबई र अन्य उत्तरी इमिरेट्समा रहनु भएका नेपाली दाजुभाई दिदीबहिनीहरूलाई आफ्नो राहदानीको expiry date चेक गर्नुहुन र आफ्नो राहदानीको म्याद छ महिना भन्दा कम छ भने समयमा नै राहदानीका लागि निवेदन दिनुहुन अनुरोध छ। रोजगारीका कारण शनिबार र आइतबार बिदाको दिनमात्र महावाणिज्यदूतावासमा biometric का लागि आउन अनुकुल हुने निवेदकहरुका लागि समेत महावाणिज्यदूतावास आउनुपूर्व हामीलाई संदेश पठाउनु भएमा सोको जवाफ सहित विदाका दिनमा समेत यहाँहरुको biometric हुने व्यवस्था मिलाइनेछ।
नेपाली महावाणिज्यदूतावास,दुबई
संयुक्त अरब ईमिरेट्स
३ कार्तिक २०८२