समयमा राहदानी नविकरण गर्नुपर्ने सम्बन्धी जरूरी सूचना
1. राहदानीको म्याद सकिएको वा सकिन लागेको कारण भिसा नविकरण नहुँदा भिसा सम्बन्धी जरिवाना (फाइन) तिर्नु परेको बारे चिन्ता व्यक्त गर्दै नविकरणका लागि आवेदन दिइएको आफ्नो राहदानी शिघ्र उपलब्ध गराइदिन संयुक्त अरब इमिरेट्सको दुबई र अन्य उत्तरी इमिरेट्समा रहनु भएका कैयौं नेपाली नागरिकहरूबाट अनुरोध प्राप्त हुने गरेको छ। काठमाडौँस्थित राहदानी विभागमा हाल राहदानी छपाईको अत्याधिक चापका कारण सेप्टेम्बर महिनामा यस महावाणिज्यदूतावासमा प्राप्त आवेदनमध्ये सेप्टेम्बर ९ सम्मको राहदानीमात्र छपाई भएर यो हप्ता आएको र वितरण भइरहेको छ। अर्थात, हालको बिशेष परिस्थितिमा पनि प्रावधिक त्रुटी भएर सच्याउनु पर्ने सानो संख्याका आवेदन वाहेक सबै आवेदकहरूको राहदानी वितरण आवेदन दिएको मितिले दुई महिना भित्रै भएको छ। भिसा नविकरण गर्न, जरूरी यात्रा गर्न र अन्य जरूरी कामका लागि राहदानी अत्यावश्यक हुने आवेदक एवं नवजात शिशु, राहदानी हराएका, ड्यामेज भएका आवेदकहरूको जरूरी अवस्थालाई ध्यानमा राखी राहदानीको आगामी लट सम्भव भएसम्म चाँडो प्राप्त गर्नका लागि महावाणिज्यदूतावास प्रयासरत रहेको छ।
 
2. भिसा प्रकृयाका लागि राहदानीको म्याद ६ महिना भन्दा बढी हुनुपर्ने नियम सामान्यतया सबै मुलुकहरुमा रहेको छ। त्यसकारण, संयुक्त अरब इमिरेट्सको दुबई र अन्य उत्तरी इमिरेट्समा रहनु भएका नेपाली दाजुभाई दिदीबहिनीहरूलाई आफ्नो राहदानीको म्याद चेक गर्नुहुन र राहदानी बहाल रहने अवधि ६ महिना भन्दा कम छ भने समयमा नै राहदानी नविकरणका लागि आवेदन दिनुहुन सूचित गरिएको छ। समयमा नै राहदानीका लागि आवेदन दिइएमा कहिलेकाही प्राविधिक एवं परिस्थितिजन्य कारणले राहदानी छपाई भएर आउन समय लागे पनि भिसा सम्बन्धी जरिवाना (फाइन) र अन्य कठिनाई आइपर्ने सम्भावना कम रहन्छ।
 
3. समयमा नै आफ्नो राहदानी नविकरण गर्नुको महत्व बारे युएईमा ठुलो संख्यामा खासगरी रोजगारीका लागि रहनुभएका नेपाली दाजुभाई, दिदीबहिनीहरूमाझ संदेश संचार गर्ने कार्यमा सहयोग र योगदान गरिदिनुहुन युएईस्थित नेपाली संघसंस्था एवं संचारकर्मी मित्रहरुलाई महावाणिज्यदूतावास हार्दिक अनुरोध गर्दछ। राहदानी समयमा नविकरण नभएर कोही पनि नेपालीले दु:ख नपाउन भन्ने यहाँहरूको र हाम्रो साझा चाहना हो। यस महावाणिज्यदूतावासमा राहदानी आवेदनको लागि समय अनलाइन बुक गर्न सहज रहेकोबारे यहाँहरु जानकार नै हुनुहुन्छ।
 
4. राहदानीको लागि pre-enrollment फाराम भरिदिन अनुरोध गर्न आउने सेवाग्राहीको राहदानी म्याद सकिन लागेको अवस्थामा पनि केही टाइपिङ सेन्टरहरूले कैयौं दिन राहदानी होल्डमा राखिदिने गरेकोबारे पनि यस महावाणिज्यदूतावासमा गुनासोहरू प्राप्त भएको छ। यस किसिमले सेवाग्राहीको राहदानी होल्डमा राख्नु अनुचित र गैह्र कानूनी हो र सो कार्य नगरिदिनुहुन सम्बन्धित सबैमा सुचित गरिएको छ।
 
5. केही रोजगारदाताहरू (Sponsor/Employer) ले आँफूले रोजगारी दिएका कामदारहरुको राहदानी आँफूसंग राख्ने र राहदानी नविकरणमा वेवास्ता गरिदिने वा नविकरणका लागि समयमा राहदानी उपलब्ध नगराउने गरेकोबारे समेत गुनासोहरू प्राप्त हुने गरेको छ। आँफूले रोजगारी दिएका कामदारहरुको राहदानी समयमा नै नविकरण गर्न सहयोग एवं सहजिकरण गरिदिनु सम्बन्धित रोजगारदाता (Sponsor/Employer) को कर्तव्य भएको व्यहोरा स्मरण गराइएको छ।
 
6. राहदानी सम्बन्धी थप जानकारी वा सहयोगका लागि महावाणिज्यदूतावासको फेसबुक म्यासेन्जर, व्हाट्सएप, फोन (कार्यालय समयमा) वा इमेल मार्फत सम्पर्क गर्नसक्नु हुनेछ। कुनैपनि माध्यमबाट प्राप्त यहाँहरुका प्रश्न एवं अनुरोधको जवाफ महावाणिज्यदूतावासले समयमा नै दिन प्रयास गरिरहेको छ।
नेपाली महावाणिज्यदूतावास, दुबई
संयुक्त अरब ईमिरेट्स
०७ कार्तिक २०८२