अधिकृत वारिसनामा

अधिकृत वारिसनामा

अधिकृत वारिसनामा

यस महावाणिज्यदूतावासबाट अधिकृत वारिसनामा प्रमाणित गर्न आउँदा देहायबमोजिमका कागजातहरू अनिवार्य रूपमा पेश गर्नुहुन सम्बन्धित सबैमा सूचित गरिन्छ।

  1. नेपाली कागजमा रीतपूर्वक सफासँग लेखिएको अधिकृत वारिसनामाको लिखत थान-२
  2. नेपाली महावाणिज्यदूतावास, दुबई, युएईलाई सम्बोधन गरी नेपाली कागजमा लेखिएको निवेदन लिखत थान-१
  3. घरजग्गाको हकमा जग्गाधनी प्रमाणपूर्जाको सक्कल (जग्गामा घर वा टहरो निर्मित भएमा नक्शा पास गरेको प्रमाणित प्रतिलिपि समेत संलग्न हुनुपर्ने) ।
  4. अधिकृत वारिसनामा दिने व्यक्तिको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल वा राहदानीको सक्कल।
  5. अधिकृत वारिसनामा लिने व्यक्तिको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल वा नक्कल (नक्कल प्रति Notarized हुनुपर्ने)।
  6. अधिकृत वारिसनामा दिने व्यक्तिको हालसालै खिचेको पासपोर्ट साइजको फोटो थान-२
  7. अधिकृत वारिसनामा दिने व्यक्तिको युएईको वैध भिसा सहितको राहदानी वा सोको नक्कल
  8. अधिकृत वारिसनामा दिने व्यक्तिको युएईको Emirates ID वा सोको नक्कल
  9. मुद्दा दर्ता भएको भए मुद्दा दर्ता भएको कागज (सक्कल वा Notarized Copy)
  10. सम्बन्ध विच्छेद सम्बन्धी वारिसनामा भए विवाह दर्ताको सक्कल वा Notarized Copy
  11. अंशवण्डा तथा लेनदेन विषयको मुद्दा भए सोसँग सम्बन्धित सक्कल कागजात वा Notarized Copy
  12. साक्षी बस्ने दुवै जना व्यक्तिको नागरिकता प्रमाणपत्रको Notarized Copy
  13. अधिकृत वारिसनामा तयार गर्ने अधिवक्ताको परिचयपत्रको Notarized Copy
  14. मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५४ बमोजिम अचल सम्पत्तिको हक हस्तान्तरण गर्ने सम्बन्धी अख्तियारनामाको हकमा ऐ. दफाको उपदफा (५) बमोजिम तीन पुस्ताभित्रमा हक हस्तान्तरण गर्ने भए सो खुल्ने कागजात।
  15. अधिकृत वारिसनामा दिने व्यक्ति स्वयं उपस्थित भई निवेदन दिनु पर्ने।
  16. उपर्युक्त बमोजिम रीत पूरा नभएको अधिकृत वारिसनामा प्रमाणित हुन नसक्ने भएकोले नेपालबाट अधिकृत वारिसनामाको कागजात तयार भइसकेपछि उक्त सक्कल कागजातहरू युएई ल्याउनुअघि यस महावाणिज्यदूतावासको WhatsApp No. +971503612305 (अधिकृत वारिसनामाको लागि मात्र) मा फोटो कपी पठाउनुभई महावाणिज्यदूतावासबाट रुजु गराएपछि मात्र युएई मगाउनुहुन अनुरोध गरिन्छ।
  17. अधिकृत वारिसनामा महावाणिज्यदूतज्यू वा उहाँको अनुपस्थितिमा कार्यवाहक महावाणिज्यदूतज्यूबाट मात्र प्रमाणित हुन सक्ने भएकोले अधिकृत वारिसनामा प्रमाणित गर्न आउनुभन्दा पहिले नै अनिवार्य रूपले यस महावाणिज्यदूतावासको उपर्युक्त WhatsApp No. +971503612305 मा सम्पर्क गरी महावाणिज्यदूतज्यू वा कार्यवाहक महावाणिज्यदूतज्यूको उपलब्धताबारे जानकारी लिई मात्र महावाणिज्यदूतावासमा आउनुहुन अनुरोध गरिन्छ।

 

अधिकृत वारिसनामा प्रमाणीकरण दस्तुरः

  • मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५३ को उपदफा (२) बमोजिमको मुद्दा किटान नगरिएको अधिकृत वारेसनामा प्रमाणित गर्दा १५ दिराम।
  • मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५४ बमोजिम अचल सम्पत्तिको हक हस्तान्तरण गर्ने सम्बन्धी अख्तियारनामाको हकमा ऐ. दफाको उपदफा (५) बमोजिम तीन पुस्ताभित्रमा हक हस्तान्तरण गर्ने भए १५ दिराम र तीन पुस्ताबाहेक अरूलाई सम्पत्ति बिक्री गर्ने वा हक छाडिदिने गरीको भए १४० दिराम।

यस महावाणिज्यदूतावासमा प्रमाणीकरणका लागि आउने अधिकृत वारिसनामाको लिखतमा  .....संयुक्त अरब इमिरेट्सको दुबई स्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूतको रहोवारमा सहीछाप गरी...   भन्ने व्यहोरा लेख्नुहुन समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ।साथै, निवेदनमा नेपाली महावाणिज्यदूतावास, दुबईलाई सम्बोधन गर्नुपर्नेछ।

 

साथै वारिसनामासम्बन्धी कागजातहरु विहान ९ बजेदेखि दिउँसो २ बजेसम्म रुजु गराई राजश्व तिर्न सकिने र दिनको ३ बजेपछि मात्र तयारी भएका कागजातहरु वितरण गरिनेछ।